दफा २५
जोखिम व्यहोर्ने कोष
(१) संस्थाले लघुकर्जा प्रवाह गर्दा हुने सम्भावित हानी नोक्सानी व्यहोर्ने प्रयोजनको लागि दफा २४ मा उल्लिखित कोषको अतिरिक्त जोखिम व्यहोर्ने एउटा छुट्टै कोष खडा गर्नेछ र सो कोषमा प्रत्येक आर्थिक वर्षको अन्तिम दिनसम्म लगानीमा रहिरहेका बाँकी कूल कर्जा रकमको तोकिएबमोजिम हुने रकम जम्मा गर्नुपर्नेछ ।
(२) उपदफा (१) बमोजिम कोषमा जम्मा भएको रकम संस्थाले नेपाल सरकार वा बैङ्कको धितोपत्रमा वा बाणिज्य बैङ्क वा वित्तीय संस्थाको आवधिक निक्षेपमा लगानी गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम कोषमा जम्मा भएको रकम लघुकर्जा मिनाहा गर्ने कार्यको लागि मात्र पयोग गर्नुपर्नेछ । त्यसरी लघुकर्जा मिनाहा गर्नु परेमा संस्थाले बैङ्कको स्वीकृति लिनुपर्नेछ ।